पीडित आमाको घाउमा शब्दको प्रहार—अब स्पष्टीकरण होइन, माफी चाहियो!

‘सडक प्रसूति’मा शंकाको राजनीति, अब माननीयज्यूको रेडिमेड जवाफ!

अस्पतालको गेटअगाडि पैसा अभावका कारण एउटी आमाले सडकमा बच्चा जन्माउनुपर्ने घटना आफैँमा राज्यको स्वास्थ्य व्यवस्थामाथि गम्भीर प्रश्न हो। तर यही घटनालाई लिएर माननीय डा. अच्युतम लामिछानेले व्यक्त गर्नुभएको ‘सडकको प्रसूति सरकारलाई असफल बनाउने खेल हो कि भन्ने शंका’ भन्ने अभिव्यक्ति अहिले व्यापक रूपमा भाइरल भइरहेको छ।

अभिव्यक्ति भाइरल भयो, आलोचना चर्कियो, अनि त्यसपछि सुरु भयो—माननीयज्यूको रेडिमेड उत्तर अभियान!

कसैले प्रश्न गर्‍यो, उही उत्तर।
कसैले आलोचना गर्‍यो, उही उत्तर।
कसैले सामाजिक सञ्जालमा लेख्यो, फेरि उही उत्तर।

लाग्छ, एउटा उत्तर बनाएर माननीयज्यूले अहिले त्यो उत्तरको प्रतिलिपि चारैतिर बाँडिरहनुभएको छ।

तर प्रश्न अझै उही छ—
अस्पतालको गेटमा पैसा नभएर एउटी आमाले सडकमा बच्चा जन्माउनुपरेको घटनालाई ‘सरकारलाई असफल बनाउने खेल’को शंकाको नजरले हेर्नुपर्ने आधार के हो?

गरिब आमाले बच्चा जन्माउनु कुनै राजनीतिक स्क्रिप्ट होइन।
पैसा नभएर उपचार नपाउनु कुनै प्रचार अभियान होइन।
सडकमा प्रसूति हुनु कसैको स्टुडियोमा तयार गरिएको भिडियो पनि होइन।

त्यो एउटी आमाको पीडा हो। एउटा नवजात शिशुको जन्म हो। र राज्यको स्वास्थ्य व्यवस्थामाथि उठेको गम्भीर प्रश्न हो।

त्यसैले अहिले चौतर्फी विरोध भइरहेको बेला प्रश्नको जवाफ थप स्पष्टीकरणले मात्र पुग्दैन। सार्वजनिक पदमा बसेको व्यक्तिको शब्दले पीडित परिवार र आम नागरिकको भावनामा चोट पुगेको महसुस हुन्छ भने माफी माग्नु कमजोरी होइन, जिम्मेवारी हो।

माननीयज्यूले चाहनुभयो भने सजिलो बाटो छ—
‘मेरो अभिव्यक्तिबाट पीडित परिवार वा आम नागरिकको भावनामा चोट पुगेको भए म क्षमाप्रार्थी छु’ भनेर विषय टुंग्याउन सकिन्छ।

तर अहिलेको अवस्था हेर्दा लाग्छ—
घटना एउटा थियो, विवाद सयवटा बन्यो।
पीडा एउटी आमाको थियो, जवाफ हजारौँलाई दिइँदैछ।
अनि समाधान? त्यो चाहिँ कतै देखिँदैन।

माननीयज्यू, जनताले तपाईंलाई कमेन्टको जवाफ दिन निर्वाचित गरेका होइनन्।
उनीहरूले समस्या बुझ्न, आवाज उठाउन र समाधान खोज्न प्रतिनिधि बनाएका हुन्।

त्यसैले रेडिमेड उत्तरको स्टक सकिएपछि अब एउटा रियल उत्तर दिनुस्—

अस्पतालको गेटअगाडि एउटी आमाले सडकमा बच्चा जन्माउनुपर्ने अवस्था फेरि नआओस् भनेर के गर्ने?

किनकि राजनीतिक विवादबाट बचाउने सबैभन्दा राम्रो उपाय अर्को स्पष्टीकरण होइन—
गल्ती भए स्वीकार गर्नु, आवश्यक परे माफी माग्नु र जनताको पीडामाथि राजनीति नगरी समाधानतर्फ लाग्नु हो।

अहिले माननीयज्यू उत्तर दिन व्यस्त छन्;
जनता भने अझै एउटै प्रश्नको उत्तर खोजिरहेका छन्—
‘आमाले अस् बेड पाइनन्, यसको जिम्मेवारी कसले लिने?’

file_00000000096c8211ad2df2bd99f8ff00

Leave a Reply

Your email address will not be published. Required fields are marked *