कागजमा ग्यास दोब्बर, चुलोमा आगो बाल्न मुस्किल काठमाडौंमा यतिबेला ग्यास खोज्ने नागरिकको लाइन दिनदिनै लम्बिँदै गएको छ। विद्यार्थीहरू काम छाडेर खाली सिलिन्डर बोकेर डिपो धाइरहेका छन्। कतिपय पानीमा भिज्दै घण्टौँ लाइनमा बसिरहेका छन्। सम्बन्धित निकायलाई पटक–पटक फोन गरिरहेका छन्, समस्या सुनाइरहेका छन्, तर जवाफ भने उस्तै—“आपूर्ति भइरहेको छ।”सरकारी तथ्यांकमा ग्यासको आयात बढेको देखिन्छ। कतै त पहिलेभन्दा दोब्बर आपूर्ति भइरहेको दाबीसमेत सुनिन्छ। तर बजारमा पुग्दा अवस्था अर्कै छ। कागजमा ग्यास दोब्बर, नागरिकको चुलोमा भने ग्यास खोज्दा खबरै छैन।काठमाडौंका विभिन्न ठाउँमा ग्यासका लागि लाइनै लाइन देखिन्छ। महिनौँदेखि कुपन बोकेर हिँड्नुपर्ने बाध्यता कतिपयको अझै हटेको छैन। बिहानैदेखि लाइन बसेर साँझसम्म कुर्दा पनि ग्यास पाइन्छ भन्ने निश्चित छैन। विद्यार्थीको पढाइ र काम प्रभावित छ, श्रमिकको दिनको कमाइ लाइनमै बितिरहेको छ, गृहिणीको चिन्ता चुलोमै अड्किएको छ।त्यसमाथि अर्को गुनासो थपिएको छ—ग्यासको मूल्य।प्राप्त जानकारीअनुसार ग्यास भर्ने व्यवस्था काठमाडौं उपत्यकाभन्दा बाहिर, चितवनलगायतका क्षेत्रमा हुने भएकाले ढुवानी तथा आपूर्ति व्यवस्थामा थप समस्या देखिएको बताइन्छ। यही कारण देखाउँदै बजारमा मूल्यसमेत बढिरहेको आमउपभोक्ताको गुनासो छ।अर्थात् नागरिकको समस्या अब एउटामात्र रहेन।ग्यास पाउन लाइन बस्नुपर्ने दुःख एउटा, ग्यास पाए पनि महँगो मूल्य तिर्नुपर्ने दुःख अर्को।नागरिकको अवस्था यस्तो भएको छ—पहिले ग्यास खोज्नुपर्छ, अनि ग्यास पाएपछि मूल्य खोज्नुपर्छ। चुलोमा आगो बाल्नुअघि सरकारको तथ्यांक सम्झनुपर्छ कि बजारको मूल्य?सरकार भन्छ—आपूर्ति सहज छ।नागरिक भन्छन्—ग्यास छैन।तथ्यांक भन्छ—आयात बढेको छ।बजार भन्छ—लाइन घटेको छैन।अनि उपभोक्ता भन्छन्—ग्यास पाइए पनि मूल्य बढेको छ।अब नागरिकले विश्वास गर्ने कसलाई?सबैभन्दा गम्भीर कुरा त विपद्को समयमा देखिएको यो अवस्था हो। बाढीपहिरोबाट प्रभावित नागरिकलाई दैनिक उपभोग्य वस्तु पुर्याउनुपर्ने बेला काठमाडौंमै ग्यासको यस्तो हाहाकार छ भने बाढीपीडित दुर्गम बस्तीको अवस्था कस्तो होला? राजधानीमै नागरिकले चुलो बाल्न संघर्ष गरिरहेका बेला विपद्मा परेका नागरिकको भान्सासम्म राज्यले अत्यावश्यक सामग्री कसरी पुर्याइरहेको छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।सरकारले तथ्यांकमा ग्यास खोजिरहेको छ, जनता भने डिपोको लाइनमा ग्यास खोजिरहेका छन्।सरकारी कार्यालयको रिपोर्टमा आपूर्ति सहज होला, तर नागरिकको भान्सामा ग्यास नपुगेसम्म त्यो सहज आपूर्ति होइन। आयात बढेको तथ्यांकले मात्रै नागरिकको भान्सा भरिँदैन। आपूर्ति बढेको दाबीले मात्रै सिलिन्डर भरिँदैन। र भाषणले मात्रै चुलोमा आगो बल्दैन।त्यसैले अब सम्बन्धित निकायले ‘आपूर्ति भइरहेको छ’ भनेर वक्तव्य निकालेर बस्ने होइन, ग्यास कहाँ रोकिएको छ, कसरी वितरण भइरहेको छ, मूल्य किन बढिरहेको छ र नागरिकले किन घण्टौँ लाइन बस्नुपरेको छ—यसको वास्तविक जवाफ दिनुपर्छ।किनकि नागरिकलाई अहिले तथ्यांक होइन, ग्यास चाहिएको छ।कागजमा दोब्बर ग्यास भएर के गर्नु, घरको चुलोमा एक सिलिन्डर पनि समयमा पुग्न सकेन भने?













Leave a Reply