गरिमा चौधरीको न्याय र सम्झनामा सचेतना कार्यक्रम
बारा सिमराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको दुःखद घटनाले श्री पञ्चकन्या माध्यमिक विद्यालय परिवार स्तब्ध र मर्माहत भएको छ। अबोध बालिकामाथि भएको यस्तो अमानवीय घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विद्यालय परिवारले गरिमा चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
नुवाकोट जिल्ला, पञ्चकन्या गाउँपालिकामा रहेको श्री पञ्चकन्या माध्यमिक विद्यालयमा आज मिति २०८३/०५/०९ गते गरिमा चौधरीको न्याय र सम्झनाका लागि विशेष सचेतना कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा विद्यार्थीहरूले ‘Justice for गरिमा’ तथा ‘म गरिमा हुँ’ भन्ने भावसहित बालबालिकामाथि हुने हिंसा, अन्याय र अपराधविरुद्ध आवाज उठाएका थिए। साहित्यको माध्यमबाट विभिन्न विद्यार्थीहरूले आफ्ना मौलिक रचना, कविता तथा भावनात्मक अभिव्यक्ति प्रस्तुत गर्दै गरिमाको सम्झना गरेका थिए। विद्यार्थीका रचनामा गरिमाप्रति श्रद्धाञ्जलीसँगै बालबालिकाको सुरक्षा, न्याय र दोषीलाई कारबाहीको मागसमेत अभिव्यक्त भएको थियो।
कार्यक्रममा बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार तथा यौनजन्य अपराधविरुद्ध सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्ने विषयमा समेत छलफल गरिएको थियो। बालबालिकाले सुरक्षित वातावरणमा बाँच्न र आफ्नो अधिकार प्रयोग गर्न पाउने अवस्था सिर्जना गर्नु परिवार, विद्यालय, समाज र राज्य सबैको साझा जिम्मेवारी भएकोमा जोड दिइएको थियो।
विद्यालय परिवारले गरिमा चौधरीमाथि भएको जघन्य घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ।
गरिमाको सम्झनामा आयोजित यस सचेतना कार्यक्रमले बालबालिकामाथि हुने हिंसाविरुद्ध आवाज उठाउन, बाल अधिकारको संरक्षण गर्न र सुरक्षित समाज निर्माणका लागि विद्यार्थी तथा समुदायलाई सचेत बनाउन महत्वपूर्ण सन्देश दिएको विद्यालयको विश्वास छ।
Justice for गरिमा।
म गरिमा हुँ।
गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली।













Leave a Reply