बाल दिवसको अवसरमा शिवपुरी डोजोको सामाजिक पहल, ३ सय विद्यार्थीलाई शैक्षिक सामग्री
नुवाकोट, शिवपुरी–२ । बाल दिवसको अवसरमा शिवपुरी गाउँपालिकामा सञ्चालित शिवपुरी डोजोले करिब ३ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
शिवपुरी गाउँपालिका–२ स्थित कवर्ड हलमा आयोजित कार्यक्रममा वडा नं. २ का वडा सदस्य अर्जुन तामाङको प्रमुख आतिथ्यता तथा शिवपुरी डोजोका अध्यक्ष सञ्जय तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
बालबालिकाको शैक्षिक विकास तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा शिवपुरी–१ र २ का कक्षा १ देखि १० सम्म अध्ययनरत करिब ३ सय विद्यार्थीलाई कापीलगायत शैक्षिक सामग्री वितरण गरिएको थियो।
कार्यक्रमका लागि समाजसेवी तथा शिवपुरी यातायात प्रा.लि.का अध्यक्ष प्रलाद थापा, समाजसेवी एवं व्यवसायी कृष्णराज दुलाल तथा नेपाल गोजुकाइ कराते डोका अच्युत उप्रेतीलगायतले सहयोग गरेका थिए। द चाँदबाग स्कुल (सोसल क्लब) र लिटल वन्डर्स स्कुललगायत संस्थाले समेत सहयोग गरेका थिए।
बाल दिवससँगै तीजको अवसर पारेर महिलाहरूका लागि बेलुन फुटाउने प्रतियोगितासहित मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा शिवपुरी–१ र २ का वडा सदस्य, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीयको उपस्थिति रहेको थियो। शिवपुरी डोजोले बालबालिकाको शिक्षा, खेलकुद र व्यक्तित्व विकासमा सहयोग पुर्याउने यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।










Leave a Reply