प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष

प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्षनुवाकोट मिडियाकाठमाडौं — नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको छ। तामाङलाई प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा सहभागी भएर सिंहदरबारबाट बाहिरिने क्रममा पक्राउ गरिएको हो।बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रको अवस्था, राहत, उद्धार तथा पुनःस्थापनालगायतका विषयमा प्रधानमन्त्रीसँग जनप्रतिनिधिहरूको छलफल भएको थियो। उक्त छलफलमा किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ पनि सहभागी भएका थिए।छलफल सकेर सिंहदरबारको गेटबाट बाहिरिने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार तामाङलाई पक्राउ गरी दरबारमार्ग प्रहरी वृत्तमा बुझाइएको छ।किस्पाङ गाउँपालिका पछिल्लो समय बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमध्ये एक हो। बाढीपहिरोबाट सडक, आवागमन, स्थानीय पूर्वाधार तथा जनजीवनमा असर परेको अवस्थामा गाउँपालिका अध्यक्षसहित स्थानीय जनप्रतिनिधिहरू प्रभावित क्षेत्रको राहत तथा व्यवस्थापनका विषयमा सक्रिय रहँदै आएका छन्।यसै क्रममा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्रीले गरेको छलफलमा सहभागी भएर फर्कंदै गर्दा गाउँपालिका अध्यक्ष नै सिंहदरबारबाट पक्राउ परेपछि घटनाले थप चासो सिर्जना गरेको छ।प्रहरीका अनुसार तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा रहेको र सोही मुद्दाको अनुसन्धानका क्रममा पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।यद्यपि, बैंकिङ कसुरसम्बन्धी मुद्दाको विस्तृत विवरण, आरोपको प्रकृति तथा पक्राउपछिको कानुनी प्रक्रियाबारे सम्बन्धित निकायबाट थप जानकारी आउन बाँकी छ।

file_0000000067cc8208ac6f276c8e4433d0

Leave a Reply

Your email address will not be published. Required fields are marked *