शिवपुरीमा विकासको नमुना : शिक्षकले पढाउने कि विद्यार्थीलाई खोला तार्ने?

बाटो खोलियो, समस्या खोलिएन : शिवपुरीमा विद्यार्थीलाई खोला तार्दै शिक्षक र जनप्रतिनिधिनुवाकोट । शिवपुरी गाउँपालिकामा गत भदौ ५ गते लेदोसहित आएको बाढीले सडकमा ठूलो क्षति पुर्‍याएपछि अवरुद्ध सडक तत्कालै डोजर तथा एक्स्काभेटर लगाएर खोलिएको थियो। गाउँपालिका प्रशासनबाट करिब १–२ किलोमिटरको दूरीमै रहेको सडक भएकाले सोही दिन बाटो खुलाइएको थियो। त्यस क्रममा सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमल्सिनासमेत स्थलगत निरीक्षणमा पुगेका थिए।तर केही दिनमै पुनः बिग्रिएको उक्त सडक आजसम्म व्यवस्थित हुन नसक्दा स्थानीयवासीले सास्ती खेपिरहेका छन्। विशेषगरी विद्यालय जाने–आउने विद्यार्थीलाई खोला पार गर्नुपर्ने अवस्था छ।सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा शिक्षक राधेश्याम पाण्डेले विद्यार्थीलाई खोला तार्दै गरेको देखिन्छ। अन्य स्थानीयवासीले पनि सहयोग गरिरहेका छन्। त्यस्तै वडा अध्यक्ष रेशम मोक्तानसमेत स्थानीयको सहयोगमा शिक्षिका, विद्यार्थी तथा अन्य व्यक्तिलाई खोला पार गराउन खटिएको दृश्य भिडियोमा देखिन्छ।स्थानीयवासीका अनुसार बाढी आएको सुरुकै दिन खोलाको धारलाई उचित रूपमा व्यवस्थापन गर्नुको सट्टा बाटो हुँदै पानी बग्ने गरी अस्थायी रूपमा बाटो खोलिएको थियो। पुलमुनिबाट पानीको सहज निकास नहुँदा पुलमाथिबाटै पानी बग्ने र सडक पुनः बिग्रिने समस्या दोहोरिएको उनीहरूको भनाइ छ।बाटो खोल्न डोजर पुग्यो, तर स्थायी समाधान पुग्न नसक्दा अहिले शिक्षक र जनप्रतिनिधि नै विद्यार्थीलाई खोला तार्नुपर्ने अवस्था आएको स्थानीयको गुनासो छ। सम्बन्धित निकायले तत्काल सडक, पुल र खोलाको निकास व्यवस्थित गरी विद्यार्थी तथा स्थानीयको आवतजावत सुरक्षित बनाउन माग गरिएको छ।

Gemini_Generated_Image_7jz37jz37jz37jz3

Leave a Reply

Your email address will not be published. Required fields are marked *