नुवाकोट । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमल्सिना आफ्नै क्षेत्रको स्थानीय भूगोलबारे अनभिज्ञ देखिएपछि आलोचनामा परेका छन्।
डा. तिमल्सिना नुवाकोटको पञ्चकन्या गाउँपालिका निवासी हुन्। पञ्चकन्या गाउँपालिकासँग सीमा जोडिएको छिमेकी स्थानीय तह शिवपुरी गाउँपालिकामा गत भदौ ५ गते लेदो सहितको बाढीले ठूलो क्षति पुर्याएको थियो। बाढीका कारण शिवपुरीको कृषि उपज तथा अनुसन्धान केन्द्र प्रभावित हुनुका साथै पूर्व–पश्चिम राजमार्ग जोड्ने पुलसमेत जीर्ण बनेको थियो।
बाढीबाट भएको क्षतिको अवस्था बुझ्न तथा मूल्यांकनका लागि शिवपुरी पुगेका मन्त्री तिमल्सिनाले स्थानीय सरकारका प्रतिनिधिसँग छलफल गरेका थिए। सो क्रममा शिवपुरी गाउँपालिका वडा नं. ५ का अध्यक्षसँग भएको संवादमा मन्त्रीले दिएको अभिव्यक्ति भने अहिले चर्चाको विषय बनेको छ।
आफ्नै गृहजिल्ला तथा छिमेकी स्थानीय तहको भूगोल र स्थानीय अवस्थाबारे मन्त्रीको अभिव्यक्ति आएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। जनप्रतिनिधि तथा उच्च जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नो क्षेत्रका महत्वपूर्ण स्थान, सडक, पुल, बस्ती तथा स्थानीय समस्याबारे सामान्य जानकारीसमेत राख्नुपर्ने भन्दै कतिपयले प्रश्न उठाएका छन्।
यद्यपि, विपद्का बेला स्थलगत निरीक्षणमा पुग्नु, क्षतिको अवस्था बुझ्नु तथा प्रभावित क्षेत्रको समस्या समाधानका लागि पहल गर्नु मन्त्रीको सकारात्मक पक्ष भएको स्थानीयस्तरमा चर्चा छ। विशेषगरी बाढीपहिरोजस्ता विपद्का घटनापछि सम्बन्धित निकायलाई सक्रिय बनाउन देखाएको तदारुकतालाई भने प्रशंसनीय मानिएको छ।
विपद् व्यवस्थापनमा देखाएको सक्रियता र आफ्नै क्षेत्रको भूगोलबारे देखिएको अनभिज्ञता—यी दुई फरक पक्षले अहिले मन्त्री तिमल्सिनाको भ्रमणलाई चर्चाको केन्द्रमा ल्याएको छ।
जनप्रतिनिधि र मन्त्रीबाट जनताले अपेक्षा गर्ने कुरा केवल विपद्का बेला स्थलगत निरीक्षण मात्र होइन, आफ्नै क्षेत्रको भूगोल, समस्या र जनताको अवस्थाबारे गहिरो जानकारीसमेत हो। त्यसैले ‘विपद् मा सक्रियता राम्रो, तर आफ्नै क्षेत्रको भूगोल नचिन्नु कति उचित?’ भन्ने प्रश्न अहिले स्थानीयस्तरमा उठेको छ।
सत्य र निष्पक्ष समाचारको आधार , नुवाकोट मिडियाको प्रसार



Leave a Reply