शिवपुरी रंगशालामा खेलाडी उम्रिने कि घाँस? करोडौँको लगानीको उपलब्धि खोइ?

करोडौँ खर्चेर बनाइएको शिवपुरी रंगशालामा खेलाडी उम्रिने कि घाँस? खेलकुद पूर्वाधार बन्यो, प्रतियोगिता किन बनेन?नुवाकोट। जिल्लाकै पहिलो र उत्कृष्ट रंगशालाको परिचय दिँदै करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको शिवपुरी रंगशाला आज खेलकुद गतिविधिको अभावमा सुनसान बन्दै गएको छ। कुनै समय ठूला खेलकुद प्रतियोगिता सञ्चालन गर्ने सपना देखाएर निर्माण गरिएको मैदानमा अहिले खेलाडीभन्दा घाँस बढी उम्रिन थालेको दृश्य देखिन थालेको छ।शिवपुरी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि सारेको यो रंगशालामा एकपटक अन्तरपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन भएको थियो। त्यसपछि स्थानीयस्तरमा राष्ट्रपति रनिङ सिल्डजस्ता सीमित कार्यक्रमबाहेक अपेक्षाकृत ठूला खेलकुद प्रतियोगिता हुन सकेका छैनन्।विडम्बना त के छ भने, आफ्नै गाउँपालिकामा जिल्लाकै पहिलो र उत्कृष्ट भनिएको रंगशाला हुँदाहुँदै शिवपुरी खेलकुद गतिविधिमा भने किन यति कमजोर देखिँदै छ? छिमेकी पालिकाहरू आफ्नै स्रोत, साधन र पूर्वाधारको उपयोग गर्दै फुटबल, भलिबल, एथलेटिक्सलगायतका प्रतियोगितामा सक्रिय भइरहँदा शिवपुरी भने करोडौँ खर्चेर बनाएको आफ्नै मैदानलाई उपयोग गर्न किन चुकिरहेको छ?रंगशाला बनाउनु मात्रै विकास हो भने त्यसमा खेलकुद सञ्चालन गर्ने जिम्मेवारी कसको हो? करोडौँको लगानी गरेर मैदान तयार पार्ने तर नियमित प्रतियोगिता सञ्चालन गर्ने योजना नबनाउने हो भने यो पूर्वाधार आखिर कसका लागि निर्माण गरिएको हो?अहिले रंगशालाको मैदानमा घाँस उम्रिएको देखिन्छ। प्रश्न उठ्न थालेको छ– शिवपुरीको यो मैदानमा अब खेलाडीहरू उम्रिने हुन् कि घाँस नै हुर्किरहने हो?खेलकुदमा लगानी गर्नु सकारात्मक कुरा हो। तर लगानीको प्रतिफल खेलाडीको प्रतिभा, प्रतियोगिताको निरन्तरता र स्थानीय युवाको अवसरमा देखिनुपर्छ। रंगशालाको नाम र बजेटको आकारले मात्रै खेलकुदको विकास भएको मान्न सकिँदैन।शिवपुरी गाउँपालिकाले यस रंगशालालाई सञ्चालनमा ल्याउन अब के योजना बनाएको छ? वार्षिक खेलकुद क्यालेन्डर किन छैन? जिल्लास्तरीय तथा अन्तरपालिका प्रतियोगिता नियमित रूपमा सञ्चालन गर्ने योजना छ कि छैन? करोडौँको लगानीलाई उपयोगविहीन हुन नदिन गाउँपालिकाको आगामी रणनीति के हो?रंगशाला निर्माणमा करोडौँ खर्चिएको स्थानीय सरकारले यसको सञ्चालन र व्यवस्थापनमा कति चासो देखाउँछ भन्ने प्रश्न अहिले अनुत्तरित छ।रंगशाला बनाउनु ठूलो कुरा होइन, त्यसमा खेलकुदको माहोल बनाउनु ठूलो कुरा हो। नत्र करोडौँको लगानीमा बनेको मैदानमा खेलाडीको भविष्य होइन, घाँसको भविष्य मात्रै सुनिश्चित हुनेछ।अब शिवपुरी गाउँपालिकाले जवाफ दिनुपर्छ– रंगशाला निर्माण गरेर जिम्मेवारी पूरा भएको हो कि यहाँ खेलकुदको भविष्य निर्माण गर्ने जिम्मेवारी अझै बाँकी छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *