विद्यालय भवन बनाउन सरकारसँग जग्गा माग्दै प्रधानाध्यापक दवाडीनुवाकोट । त्रिशूली बाढीका कारण विद्यालय रहेको स्थान बगरमा परिणत भएपछि त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले विद्यालय भवन निर्माणका लागि सरकारसँग जग्गा उपलब्ध गराउन माग गरेका छन्।काठमाडौंमा आयोजित अन्नपूर्ण मिडिया नेटवर्क (एएमएन डे) कार्यक्रममा बोल्दै प्रधानाध्यापक दवाडीले विद्यालयका लागि सुरक्षित स्थानमा जग्गा उपलब्ध गराई बालबालिकाको भविष्य सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका हुन्।बाढीले विद्यालयको ८६ रोपनी जग्गा बगरमा परिणत भएपछि सुरक्षित स्थानमा अस्थायी क्याम्प निर्माण गरी पठनपाठन सञ्चालन भइरहेको उनले जानकारी दिए। गत असोज ५ गतेदेखि अस्थायी संरचनामा पढाइ सुरु गरिएको बताउँदै उनले विद्यालय भवन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणको जग्गा उपलब्ध गराउन सके सहज हुने धारणा राखे।‘हाम्रो ८६ रोपनी जग्गा बगर बनेको छ। विद्यालय बनाउने जग्गा कहीँ पनि छैन। हामीले सरकार र सम्बन्धित निकायलाई यस विषयमा जानकारी गराएका छौँ,’ दवाडीले भने।बाढी आउनुअघि नै सूचना पाएपछि विद्यालयमा रहेका तथा बाटोमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको उनले बताए। आफूले २३ वर्ष काम गरेको र आफैँले अध्ययनसमेत गरेको विद्यालयप्रति आफ्नो जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै उनले आफू प्रधानाध्यापक मात्र नभई विद्यार्थीहरूको अभिभावकसमेत भएको बताए।विद्यालयमा अध्ययनरत १ हजार ६४३ विद्यार्थीमध्ये करिब ९५ प्रतिशत विद्यार्थी अहिले पनि अस्थायी क्याम्पमै अध्ययन गरिरहेको दवाडीले जानकारी दिए। व्यापार व्यवसायका सिलसिलामा विद्यालय क्षेत्रमा आएका केही विद्यार्थीका अभिभावक अन्यत्र सरे पनि अधिकांश विद्यार्थी विद्यालयमै रहेको उनले बताए।बाढीपछि विद्यालयको भौतिक संरचना र जग्गा गुमे पनि विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिइरहेको विद्यालयलाई अब स्थायी संरचना निर्माणका लागि जग्गा र आवश्यक सहयोगको खाँचो छ।दवाडीले जलवायु परिवर्तनका कारण नदी तटीय क्षेत्रका बासिन्दाले ठूलो सास्ती भोग्नुपरेको उल्लेख गर्दै विपद् जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वतयारीमा जोड दिनुपर्ने बताए। बुढीगण्डकी क्षेत्रमा आएको बाढीले समेत विपद्को जोखिम गम्भीर रहेको देखाएको उनको भनाइ छ।विपद् प्रभावितका समस्या, आवश्यकता र पुनःस्थापनाका विषयमा सञ्चारमाध्यमले निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिँदै उनले हिमाली क्षेत्रका करिडोरलाई सुरक्षित बनाउन सम्बन्धित निकायले आवश्यक तयारी गर्नुपर्ने बताए।विद्यालयको जग्गा बगरमा परिणत भएपछि अस्थायी संरचनाबाट पठनपाठन सञ्चालन गरिरहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका लागि स्थायी भवन निर्माण गर्न अब सरकारको सहयोग र सुरक्षित जग्गाको व्यवस्था आवश्यक देखिएको छ।नुवाकोट मिडिया | नुवाकोटको आवाज










Leave a Reply