बजेटको चाबी कसको खल्तीमा? सूर्यगढीमा लेखा अधिकृत र अध्यक्षबीच आरोप–प्रत्यारोप, दशैंको मुखमा तलब–भत्ता अलपत्रनुवाकोट । सूर्यगढी गाउँपालिकामा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन तथा भुक्तानी प्रक्रियालाई लिएर विवाद चर्किएको छ। बजेट विवरण र खाता सञ्चालनको अधिकार नपाएको भन्दै लेखा अधिकृत सम्पदा न्यौपानेले प्रमुख प्रशासकीय अधिकृत राहुलकुमार उपाध्यायलाई लिखित पत्र पठाएपछि विवाद सार्वजनिक भएको हो।लेखा अधिकृत न्यौपानेले असोज १३ गते पठाएको पत्रमा गाउँसभाबाट बजेट प्रस्तुत भइसके पनि शीर्षकगत बजेट विवरण लेखा शाखालाई उपलब्ध नगराइएको उल्लेख गरेकी छन्। बजेट विवरण र खाता सञ्चालनको अधिकार नहुँदा विकास निर्माणका कामको भुक्तानी, सामाजिक सुरक्षा भत्ता तथा कर्मचारीको तलब–भत्तासमेत प्रभावित भएको उनको दाबी छ।उनले असोज १५ गतेभित्र बजेट विवरण उपलब्ध नगराए त्यसबाट उत्पन्न हुने समस्या र भुक्तानीको जिम्मेवारी लेखा शाखाले नलिने चेतावनीसमेत दिएकी थिइन्।यता गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले भने विवादको मुख्य कारण लेखा अधिकृतको कार्यशैली भएको आरोप लगाएका छन्। अध्यक्ष घलेका अनुसार लेखा अधिकृतको असहयोगका कारण गाउँपालिकाका काम प्रभावित हुनुका साथै दशैंको मुखमा कर्मचारीको तलब र ज्येष्ठ नागरिकलगायत सामाजिक सुरक्षा भत्ता वितरणमा समेत समस्या परेको छ।अध्यक्ष घलेले विगतका केही भुक्तानी रोकिएको, कार्यपालिका निर्णयअनुसारका आर्थिक सहायता तथा अन्य फाइलसमेत अघि नबढाइएको आरोप लगाएका छन्। उनले लेखा अधिकृतले गाउँपालिकाको समन्वयमा काम नगरेको समेत दाबी गरेका छन्।तर लेखा अधिकृत न्यौपानेले अध्यक्षका आरोप अस्वीकार गरेकी छन्। उनका अनुसार आफूले कुनै काम जानाजान नरोकेको र गत आर्थिक वर्षको अन्तिम समयमा आएका केही फाइल प्रणालीमा आएको प्राविधिक समस्या तथा खाता बन्द हुने समयका कारण भुक्तानी हुन नसकेको हो।गाउँपालिकाले अहिले प्रमुख प्रशासकीय अधिकृतलाई विवाद समाधानको जिम्मेवारी दिएको जनाएको छ। साथै लेखा अधिकृतको सरुवा वा व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको अध्यक्ष घलेले बताएका छन्।बजेट कार्यान्वयन र भुक्तानी रोकिँदा यसको प्रत्यक्ष असर कर्मचारी, सामाजिक सुरक्षा भत्ता पाउने नागरिक तथा विकास निर्माणका योजनामा पर्ने भएकाले गाउँपालिकाको विवाद तत्काल समाधान गर्नुपर्ने देखिन्छ।नुवाकोट मिडियानुवाकोटको आवाज










Leave a Reply