मोटरसाइकलको चक्कामा बेरियो दुपट्टा, तीज मनाउन हिँडेकी महिलाको मृत्यु
सल्यानमा दुपट्टा मोटरसाइकलको चक्कामा बेरिँदा महिलाको मृत्युसल्यानमा मोटरसाइकलमा सवार एक महिलाको दुपट्टा पछाडिको चक्कामा बेरिएपछि भएको दुर्घटनामा परी मृत्यु भएको छ।दाङको शान्तिनगर गाउँपालिका–१ पेदीखोलाकी ३५ वर्षीया जीता केसीको शनिबार दिउँसो त्रिवेणी गाउँपालिका–३ टाट्केमा भएको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार केसी तीज मनाउन माइतीघर जाने क्रममा भतिजी कृष्ण केसीले चलाएको मोटरसाइकलमा पछाडि सवार थिइन्। भित्री कच्ची सडकखण्डमा मोटरसाइकल तीव्र गतिमा गुडिरहेका बेला उनले लगाएको सलवार सुटको दुपट्टा पछाडिको चक्कामा बेरिएको थियो।दुपट्टा चक्कामा बेरिएपछि मोटरसाइकलको गतिसँगै केसी सडकमा खसेर केहीबेर लतारिएकी थिइन्। दुपट्टा घाँटीमा समेत कसिएको अवस्थामा भेटिएकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।घटना दिउँसो पौने १ बजेतिर भएको हो। सडक केही ओरालो रहेकाले मोटरसाइकल चलाइरहेका कृष्णले सुरुमा दुपट्टा चक्कामा बेरिएको थाहा नपाएको प्रहरीले जनाएको छ। मोटरसाइकल चलाउँदा असहज महसुस भएपछि केहीबेरमा रोकेर हेर्दा केसी सडकमा लतारिएको अवस्थामा भेटिएको थियो।सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरेपछि शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको जनाएको छ।प्रहरीले मोटरसाइकलमा यात्रा गर्दा लामो तथा खुला कपडा र दुपट्टा चक्कामा बेरिन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।











Leave a Reply