नाम अच्युतम, अभिव्यक्ति भने किन यति विचलित?नुवाकोट । नुवाकोट क्षेत्र नम्बर–२ का सांसद डा. अच्युतम लामिछाने पछिल्लो समय आफ्नो एउटा अभिव्यक्तिका कारण विवादमा छन्। अस्पतालबाहिर बच्चा जन्मिएको संवेदनशील घटनालाई लिएर उनले त्यसमा राजनीतिकरण भएको हुन सक्ने ‘शंका’ व्यक्त गरेपछि सामाजिक सञ्जालमा उनको आलोचना चुलिएको हो।नाम अच्युतम—अर्थात् उत्तम, नढल्ने, दृढ। तर पछिल्लो अभिव्यक्तिले भने जनताको मनमा उल्टै प्रश्न जन्माएको छ—नाम अच्युतम भए पनि विचार र अभिव्यक्ति पनि उत्तम नै हुनुपर्छ कि पर्दैन?घटना गम्भीर छ। प्रश्न स्वास्थ्य सेवा र नागरिकको पीडासँग जोडिएको छ। तर त्यही संवेदनशील घटनामाथि राजनीतिकरणको शंका व्यक्त गरिएपछि सांसद लामिछानेमाथि प्रश्न उठ्नु स्वाभाविक हो।अझ रोचक कुरा त के छ भने, विवाद बढेपछि जवाफमा जवाफ, स्पष्टीकरणमा स्पष्टीकरण आइरहेका छन्। तर जनताको प्रश्न भने त्यही ठाउँमा उभिएको छ—‘शंका’ गर्ने आधार के थियो?पुरै अभिव्यक्ति हेर्दा राजनीतिकरणको शंका व्यक्त गरिएको सुनिन्छ। त्यसपछि ‘मैले त्यस्तो भनेको होइन’ भन्ने स्पष्टीकरणले विवाद समाधान गर्नेभन्दा पनि प्रश्नलाई थप तन्काइरहेको देखिन्छ।राजनीतिमा पनि अचम्मको गणित रहेछ—पहिला बोल्ने, जनता रिसाउने, अनि स्पष्टीकरण दिने।स्पष्टीकरणले नपुगे फेरि स्पष्टीकरण दिने।तर अन्त्यमा ‘माफी’ भन्ने दुई अक्षरचाहिँ शब्दकोशमै नभेटिने!सांसद जनताको प्रतिनिधि हुन्। त्यसैले जनताले उनको हरेक शब्दलाई गम्भीर रूपमा लिनु स्वाभाविक हो। अझ पीडितको संवेदनशील विषयमा बोलेको कुरा झन् जिम्मेवार हुनुपर्छ।डा. अच्युतम लामिछाने—नाम आफैंमा उत्तम। तर सार्वजनिक पदमा नाम मात्र उत्तम भएर पुग्दैन, अभिव्यक्ति, संवेदना र जिम्मेवारी पनि उत्तम देखिनुपर्छ।अहिले जनताले खोजेको अर्को रेडिमेड स्पष्टीकरण होइन।एकपटक सीधा जवाफ चाहिएको छ।र यदि अभिव्यक्तिले पीडित तथा आम नागरिकको भावनामा चोट पुगेको हो भने, सबैभन्दा ठूलो राजनीतिक कमजोरी माफी माग्नु होइन।बरु कहिलेकाहीँ ‘माफी चाहन्छु’ भन्न सक्नु नै नेतृत्वको सबैभन्दा उत्तम अभिव्यक्ति हुन्छ।नाम अच्युतम छ—अब काम र अभिव्यक्तिले पनि त्यो नामको अर्थ पुष्टि गर्ने कि स्पष्टीकरणको अर्को अध्याय थप्ने?
नाम उत्तम, अभिव्यक्ति विवादित : अच्युतममाथि जनताको प्रश्न










Leave a Reply